Friday, February 27, 2015

2. हाम्रो कथा

2. हाम्रो कथा
------------------दिनेश पौडेल
देवकोटाजस्तो म भए तिम्लाई रोएको हृदय
च्यातेर खोली शब्दको जामा पैह्राई देखाउँथेँ
मुटुको व्यथा मनको बह शब्दमा उनेरै
म आलो मुना–मदनको कथा सबैलाई सुनाउँथेँ ।

प्यारी हँ तिम्लाई हुँदो हो पक्कै मैलाई झैँ वेदना
सम्झेर पक्कै खोज्दी हौ मैलाई ती लाखौँ मान्छेमा
सपना देखी रम्दी हौ मै झैँ ठानेर मिलन भो
विपना फेरि ब्याज समेत मागी त्यो खुसी खोस्तो हो ।

नदोहोरियोस् दुःखान्त कथा मुना र मदनको
नदोहोरियोस् आँसुको कथा माधव–गौरीको
दैव र कालका छलेर आँखा, सन्तोष खुसीमा
सुटुक्क बाचौँ संसारलाई थाहापत्तै नदिई ।
                                             – कोसेढुङ्गा–१ (२०५९ वैशाख) मा प्रकाशित